समयक्रमसँगै विभिन्न अवस्थाहरूको सामना गर्दै
आएको मानव जातिले ढुङ्गे युगदेखि आजको एक्काइसौँ शताब्दीसम्मको लामो र उल्लेखनीय
यात्रा तय गरेको छ । प्रारम्भिक अवस्थामा मानवले आधारभूत आवश्यकताहरू खाना, बास र सुरक्षाको खोजीमा जंगल धाउने जीवन जिउँथ्यो । समय बित्दै जाँदा उसले
ज्ञान, सीप र प्रविधिको विकास गर्दै विलासितापूर्ण
जीवनशैलीसम्मको उचाइ हासिल गर्यो । यस यात्रामा मानवले अनेकौँ समस्याहरूको सामना
गर्यो र ती समस्याहरूको समाधान खोज्दै अघि बढ्यो ।
विगतमा समस्याहरूको
समाधान पत्ता लगाउनु अत्यन्त कठिन, समय र खर्चिलो
प्रक्रिया थियो । कुनै जटिल प्रश्नको उत्तर खोज्न मानिसहरूले पुस्तकालय धाउनु
पर्थ्यो, विभिन्न पुस्तकहरू अध्ययन गर्नुपर्थ्यो । आफूभन्दा
अनुभवी तथा अग्रज व्यक्तिहरूको सल्लाह लिनुपर्थ्यो । शिक्षकहरूबाट सिकिएको
ज्ञानलाई गहिरो रूपमा बुझेर जीवनमा लागू गर्ने चलन थियो । यसरी प्राप्त ज्ञान केवल
जानकारीमा सीमित नभई व्यवहारिक र दीर्घकालीन हुन्थ्यो । त्यसैले त्यो समयलाई
‘समाधानको खोजीको युग’ भनेर चिनाउन सकिन्छ ।
तर समय सधैं
परिवर्तनशील हुन्छ । समयसँगै मानवको सोच, व्यवहार र
जीवनशैलीमा पनि ठूलो परिवर्तन आएको छ । आजको एक्काइसौँ शताब्दीमा हामी पूर्ण रूपमा
फरक अवस्थाको सामना गरिरहेका छौँ । अहिलेको समयलाई ‘समस्याको खोजी’ वा ‘प्रश्न युग’
भनेर वर्गीकरण गर्न सकिन्छ । यो कुरा सुरुमा अनौठो लाग्न सक्छ तर यथार्थमा आजको
प्रमुख चुनौती समाधान खोज्नु होइन बरु सही प्रश्न निर्माण गर्नु हो ।
आजको दिनमा यदि कसैलाई
कुनै समस्या आयो भने उसले तुरुन्तै आफ्नो मोबाइल फोन प्रयोग गरी त्यसको उत्तर
खोज्न सक्छ। “मलाई यस्तो समस्या आयो, के गर्ने होला?”,
“म यात्रा जाँदैछु, के–के तयारी गर्नुपर्छ?”,
“घर बनाउँदा कति खर्च लाग्छ?”, “व्यवसाय सुरु
गर्दा के के प्रक्रिया हुन्छ?” जस्ता प्रश्नहरूको उत्तर केही
सेकेन्डमै प्राप्त गर्न सकिन्छ । आधुनिक प्रविधि, विशेषगरी ChatGPT,
Google जस्ता उपकरणहरूले हाम्रो जीवनलाई अत्यन्त सहज बनाएका छन् ।
यी माध्यमहरूले जानकारी प्राप्त गर्ने प्रक्रियालाई छिटो, सस्तो
र सर्वसुलभ बनाएका छन् ।
तर यस सहजतासँगै केही
गम्भीर चुनौतीहरू पनि देखा परेका छन् । आज हामीले पाउने अधिकांश उत्तरहरू सतही
हुन्छन् । ती उत्तरहरूले प्रश्नको सामान्य समाधान त दिन्छन् तर गहिरो विश्लेषण, कारण–परिणामको सम्बन्ध, र व्यवहारिक प्रयोगको स्पष्ट
मार्गदर्शन प्रायः दिन सक्दैनन् । यही कारणले विद्यावारिधि (PhD) वा स्नातकोत्तर तह हासिल गरेको व्यक्तिबीचको फरक स्पष्ट देखिन्छ । यो फरक
मुख्यतः ज्ञानको गहिराइमा आधारित हुन्छ ।
उच्च शिक्षा हासिल
गरेका व्यक्तिहरूले कुनै पनि विषयलाई केवल जानकारीको रूपमा मात्र ग्रहण गर्दैनन् बरु
त्यसलाई विश्लेषण गर्छन्, आलोचनात्मक दृष्टिकोणबाट
हेर्छन् र वास्तविक जीवनमा प्रयोग गर्न सक्ने क्षमता विकास गर्छन् । उनीहरूको
ज्ञान संरचित, गहिरो र दीर्घकालीन हुन्छ । तर आजको ‘प्रश्नको
युग’मा हामी प्रायः तुरुन्तै उत्तर पाउनेतर्फ केन्द्रित भइरहेका छौँ, जसले गर्दा गहिरो अध्ययन गर्ने बानी कमजोर हुँदै गएको छ ।
हाल नेपाली समाजमा पनि
यस प्रवृत्तिको व्यापक प्रभाव देख्न पाइन्छ । विद्यालयको शिक्षा, पुस्तकालय अध्ययन र शिक्षकहरूको मार्गदर्शनलाई पहिले जस्तो महत्व दिन
छाडिएको छ । कुनै प्रश्न उठ्दा वा आफूलाई कुनै विषयमा जानकारी नभएको अवस्थामा
तुरुन्तै मोबाइल निकालेर इन्टरनेटमा खोज्ने बानी बढ्दै गएको छ । यसले तत्काल उत्तर
त दिन्छ तर दीर्घकालीन रूपमा ज्ञान विकासमा बाधा पुर्याउँछ ।
अझ गम्भीर कुरा के हो
भने यसरी प्राप्त जानकारीलाई हामी प्रायः अरूको सामु प्रस्तुत गर्न प्रयोग गर्छौँ तर
स्वयं त्यस विषयमा पूर्ण रूपमा निपुण हुन सक्दैनौँ । यसले ज्ञानको गहिराइभन्दा
बाहिरी प्रदर्शनलाई प्राथमिकता दिने प्रवृत्ति विकास गरिरहेको छ । फलस्वरूप हामी
जानकारी सम्पन्न भए पनि वास्तविक अर्थमा ज्ञानवान् बन्न सकिरहेका छैनौँ ।
वास्तवमा विद्यालयको
शिक्षा,
शिक्षकहरूको मार्गदर्शन र अग्रजहरूको अनुभवबाट प्राप्त ज्ञानले
हामीलाई गहिरो, दीर्घकालीन र व्यवहारिक समझ प्रदान गर्दछ ।
यस्तो ज्ञानले मात्र व्यक्तिलाई सक्षम, आत्मनिर्भर र
विवेकशील बनाउँछ । प्रविधिले दिएको सहजतालाई अस्वीकार गर्न मिल्दैन तर त्यसको
प्रयोगसँगै गहिरो अध्ययन गर्ने बानी विकास गर्नु आवश्यक छ ।
अन्तत आजको युगमा उत्तर
पाउनु मात्र महत्वपूर्ण होइन त्यसलाई गहिराइमा बुझ्नु, विश्लेषण गर्नु र जीवनमा प्रयोग गर्नु नै वास्तविक ज्ञान हो । यदि हामीले
सतही जानकारीमा मात्र सीमित नभई गहिरो अध्ययन र चिन्तन गर्ने बानी विकास गर्न
सक्यौँ भने मात्र हामी ‘प्रश्नको युग’लाई सही रूपमा उपयोग गर्न सक्नेछौँ ।
सुनिल घिमिरे
नेपाल बैक लिमिटेड
