चुनाव सकिएको छ र नतिजा
आउने क्रम अझै जारी छ । यसबीच पछिल्ला केही दिनमा विकसित भइरहेका घटनाहरूले मनमा
अनेकौं जिज्ञासा र कौतुहलता जन्माएका छन् । चुनावको परिणाम केवल सिटको अंकगणित
मात्र होइन यसले जनताको सोच, अपेक्षा र देशको
भविष्यप्रतिको दृष्टिकोणलाई पनि प्रतिबिम्बित गर्छ। यही सन्दर्भमा चुनावको अनुभव र
नतिजाबाट उत्पन्न केही विचारहरू प्रस्तुत गर्न मन लागेको छ ।
फाल्गुन २१ गतेको
चुनावको दिन मेरो जिम्मेवारी मतपत्र वितरण गर्ने थियो । त्यस दिन ६१० जना मतदाता
मतदान गर्न आउनु भएको थियो । ती ६१० जनाको हातमा मतपत्र दिँदै गर्दा मलाई लाग्थ्यो
यी केवल मतदाता मात्र होइनन् नेपाली समाजका जीवित कथाहरू हुन् । प्रत्येक हातमा
एउटा मतपत्र थियो तर त्यस भित्र नेपाली समाजका अनेकौं यथार्थहरू लुकेका थिए ।
मानौँ ती ६१० जनाका हातमा मैले १२२० वटा वास्तविकताहरू देखिरहेको थिएँ । कसैको
हातले सामाजिक न्यायको अधुरो सपना बोकेको थियो, कसैको हातले
आर्थिक समानताको अपेक्षा, कसैको हातले विभेदको पीडा र कसैको
हातले राम्रो शिक्षा र अवसरको खोजी । ती सबै हातहरूले एउटा प्रश्न सोधिरहेका जस्ता
लाग्थे नेपालले अहिलेसम्म वास्तवमै के पायो ?
सत्य के हो भने नेपालले
केही उपलब्धि हासिल अवश्य गरेको छ तर ती उपलब्धिहरू अझै पनि सीमित प्रतिशतमा
मात्रै सीमित देखिन्छन् । जनताको जीवनमा अपेक्षित स्तरको परिवर्तन अझै पूर्ण रूपमा
अनुभूत हुन सकेको छैन ।
हालको चुनावी नतिजालाई
हेर्दा एउटा स्पष्ट संकेत देखिन्छ पार्टी परिवर्तन भएको होइन, नेपाली जनताको मनोभाव परिवर्तन भएको छ । यसलाई प्यासले छटपटिएको मानिसले
भ्यागुताको फुल पन्छाएर पानी खाई तिर्खा मेटे जस्तै अवस्थासँग तुलना गर्न सकिन्छ ।
अर्थात् जनताले पुरानो विकल्पप्रति निराशा व्यक्त गर्दै नयाँ विकल्पतर्फ आफ्नो आशा
मोडेका छन् ।
मेरो बुझाइमा नयाँ
राजनीतिक शक्तिहरूको उदय कुनै आकस्मिक घटना होइन पुराना पार्टीको सुशासन बिभाग फेल
भएको कारणले रा.स्वा.पा.को जन्म भएको हो भन्ने म
मान्दछु । यो त पुराना राजनीतिक दलहरूको सुशासन र विश्वासको संकटको परिणाम
हो । जब प्रणालीले जनताको अपेक्षा पूरा गर्न सकेन तब जनताले नयाँ विकल्प खोज्नु
स्वाभाविक थियो । यही सन्दर्भमा नयाँ शक्तिहरूको उदयलाई बुझ्नुपर्छ।
यद्यपि नयाँ शक्तिको
उदय मात्रैले रातारात चमत्कार हुने अपेक्षा गर्नु हाम्रो गल्ती हो । अहिले देखिएको
चुनावी परिणामले नीतिगत सुधार, आर्थिक स्थायित्व, प्रणालीगत सुदृढीकरण र लगानीको वातावरण निर्माण जस्ता क्षेत्रमा सकारात्मक
संकेत दिन सक्छ । तर वास्तविक परिवर्तन समय, धैर्य र निरन्तर
प्रयासबाट मात्र सम्भव हुन्छ।
आजको डिजिटल र कृत्रिम
बुद्धिमत्ता (AI) को युगमा नेपाली जनताको अपेक्षा अत्यन्त
उच्च भएको छ। नेपालको दुर्गम गाउँमा बसेको नागरिकले पनि अमेरिका, जापान वा अष्ट्रेलियाजस्ता विकसित देशको स्तरको शिक्षा, स्वास्थ्य र पूर्वाधारको अपेक्षा गर्छ । यस्तो अपेक्षा गर्नु गलत होइन तर
त्यो अपेक्षा स्रोत, क्षमता र अवस्थाअनुसार क्रमिक रूपमा
पूरा हुने यथार्थलाई पनि बुझ्न आवश्यक छ । नेपाली समाजको एउटा कमजोरी भनेको आजको
भोलि नै सबै परिवर्तन देख्न चाहने अधैर्यता हो ।
भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना र विकासको मार्गमा केही सकारात्मक परिवर्तन हुन्छ भन्ने
आशा धेरै नेपालीले गरेका छन् । तर यससँगै अर्को महत्वपूर्ण पक्ष पनि छ अन्तर्राष्ट्रिय
सम्बन्ध नेपालको भूराजनीतिक अवस्था
संवेदनशील छ। त्यसैले नयाँ सरकारको विदेश नीति, अन्तर्राष्ट्रिय
सम्बन्ध र कूटनीतिक सन्तुलन कस्तो हुन्छ भन्ने विषयले स्वाभाविक रूपमा चासो र
चिन्ता दुबै पैदा गरेको छ ।
अन्ततः यो चुनावी
परिणाम कुनै अन्तिम गन्तव्य होइन यो त एउटा नयाँ यात्राको सुरुवात मात्र हो ।
जनताको अपेक्षा स्पष्ट छ नेपालमा सामाजिक न्याय, समता,
समानता, स्रोतको न्यायोचित वितरण, आर्थिक स्थिरता र दिगो विकास स्थापित होस् । यही आधारमा नेपाल आर्थिक
वृद्धिबाट अघि बढ्दै वास्तविक आर्थिक विकासको मार्गमा प्रवेश गरोस् भन्ने जनताको
सामूहिक आकांक्षा रहेको छ।
अब प्रश्न केवल सत्ता
कसको हातमा पुग्छ भन्ने होइन । प्रश्न यो हो के त्यो सत्ता जनताको विश्वासलाई
परिणाममा रूपान्तरण गर्न सक्षम हुनेछ?
सुनिल घिमिरे
मदाने ७ गुल्मी
