समाजमा व्याप्त सामन्ती सोच: घरदेखि राष्ट्रसम्मको प्रभाव

 



 सामन्ती सोच केवल विगतमा सीमित रहने मानसिकता होइन; यो आज पनि हाम्रो समाज, परिवार, राजनीति, अर्थतन्त्र, औषधि परीक्षण, र सडक यातायातमा गहिरोसँग जरा गाडेर बसेको छ। युग परिवर्तन भए पनि शक्तिशाली वर्गको प्रभुत्व राख्ने प्रवृत्ति विभिन्न रूपमा कायम छ। समाजलाई न्यायोचित, समावेशी, र समान बनाउन सामन्ती सोचको जरो उखेल्नु अत्यावश्यक छ।

नेपालजस्तो परम्परागत समाजमा परिवारभित्रै सामन्ती सोचको प्रभाव देखिन्छ। घरमा निर्णय लिने अधिकार प्रायः पुरुष सदस्य वा ज्येष्ठ सदस्यको हातमा मात्र केन्द्रित हुन्छ। छोरीलाई छोराभन्दा कमजोर मान्ने, महिलाहरूलाई घरको काममा सीमित राख्ने, विवाहमा महिलाहरूको इच्छाभन्दा परिवारको प्रतिष्ठालाई प्राथमिकता दिने प्रवृत्ति आज पनि ज्यूँका त्यूँ छ। बुहारीलाई परिवारको सेवकझैं व्यवहार गर्ने, छोराछोरीले अभिभावकका निर्णयलाई प्रश्न नगर्ने संस्कार, र परिवारभित्र खुला संवादको अभावले गर्दा व्यक्तिगत स्वतन्त्रता र समानताको अवधारणा कमजोर बन्दै जान्छ। घरमै समानता र स्वतन्त्रताको अभ्यास नगर्ने हो भने समाजमा पनि निष्पक्षता र समानताको अवधारणा स्थापित हुन सक्दैन

 सामाजिक संरचनामा पनि सामन्ती सोचको गहिरो प्रभाव देखिन्छ । धनी र उच्च वर्गका व्यक्तिहरू विशेष सम्मान पाउँछन्, जबकि गरिब, दलित, वा कमजोर वर्गको आवाज दबाइन्छ। शक्तिशाली व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने मानसिकता अझै कायम छ। जातीय, लैंगिक, र वर्गीय भेदभावले समाजलाई दुई भागमा विभाजित गरिरहेको छ। यस्तो परिस्थितिमा समान अवसरको अवधारणा केवल नारा मात्र बनिरहन्छ।

राजनीति र अर्थतन्त्रमा पनि सामन्ती सोचको प्रभुत्व छ। नेपालमा लोकतन्त्र आए पनि राजनीतिक दलहरूमा परिवारवाद, नातावाद, र शक्तिशाली व्यक्तिहरूको नियन्त्रण कायमै छ। पुराना सामन्ती राजाहरू गएका भए पनि, आजका नेताहरू आफैं आधुनिक सामन्त बनेका छन्। उनीहरूले नीतिनिर्माणमा समानता र निष्पक्षता भन्दा आफ्नै स्वार्थलाई अघि सार्छन्। ठूला व्यापारी, राजनीतिज्ञ, र प्रभावशाली व्यक्तिहरूको नियन्त्रणमा बैंकिङ, उद्योग, र व्यापार रहेकाले आम नागरिकका लागि आर्थिक अवसर सीमित रहन्छ।

विकसित राष्ट्रहरूका औषधि कम्पनीहरूले नयाँ औषधि परीक्षणका लागि गरिब राष्ट्रलाई प्रयोगशाला बनाउने गरेका छन्। कमजोर कानुनी संरचना भएका देशमा परीक्षण गराउँदा कम लागत लाग्छ, जसले गर्दा धनी राष्ट्रहरूले आफ्नो स्वार्थ पूरा गर्न सक्छन्। स्वास्थ्य सेवा सीमित भएकाले गरिब राष्ट्रका नागरिकहरू परीक्षणका लागि सहज लक्ष्य बन्छन्। परीक्षण गरिएका औषधिहरू गरिब देशमा परिक्षण त गरिन्छ, तर त्यहाँका नागरिकहरूले त्यो औषधिको वास्तविक लाभ पाउँदैनन्। यो सोच आधुनिक सामन्ती प्रवृत्तिको उदाहरण हो, जसमा शक्तिशाली राष्ट्रहरूले गरिब राष्ट्रलाई ‘उपयोग गर्ने साधन’ मात्र ठान्छन्

सडक यातायातमा पनि सामन्ती सोच झल्किन्छ। ठूला र महँगा गाडीवालाहरूले साना सवारी साधन वा पैदल यात्रुलाई हेप्ने प्रवृत्ति देखिन्छ। प्रभावशाली व्यक्तिहरू ट्राफिक नियम उल्लंघन गर्दा पनि कारबाही हुँदैन, जबकि साधारण नागरिकले नियम पालना गर्न बाध्य छन्। सार्वजनिक यातायातमा महिला, वृद्ध, वा श्रमिक वर्गका यात्रुहरूप्रति अपमानजनक व्यवहार गरिन्छ, जबकि शक्तिशाली व्यक्तिहरू विशेष सुविधा प्राप्त गर्छन्। यस्तो प्रवृत्तिले सडकमा मात्र होइन, समाजमा नै असमानता झल्काउँछ।

सामन्ती सोच केवल बाह्य व्यवहार वा सामाजिक संरचनामा मात्र सीमित छैन; यो मानिसको मनभित्र गहिरो गरी जरा गाडेर बसेको हुन्छ। व्यक्त नगरिएका विचार, पूर्वाग्रह, र मान्यताहरू पनि सामन्ती सोचका रूप हुन्, जसले व्यक्ति र समाजको सोचाइलाई निर्देशित गर्छ। जब मानिसले कुनै विशेष जात, वर्ग, लिंग, वा सामाजिक समूहलाई स्वाभाविक रूपमा कमजोर, अयोग्य, वा दोस्रो दर्जाको रूपमा हेर्छ, तर त्यो विचार बाहिर खुला रूपमा व्यक्त गर्दैन, तब पनि त्यो सामन्ती मानसिकताको उपज नै हो। उदाहरणका लागि, 'महिलाहरूको ठाउँ घरमै हो' भन्ने सोच राख्ने तर खुला रूपमा नबोल्ने, 'गरिबहरू आफैं जिम्मेवार छन्' भन्ने मान्यता मनमा राख्ने, वा 'साधारण मानिसहरू नेताहरूको बराबरी हुन सक्दैनन्' भन्ने सोच पाल्नु, यी सबै सामन्ती मानसिकताको सूक्ष्म रूप हुन्।

सामन्ती सोच केवल इतिहासको कुरा होइन, यो आधुनिक समाजको हरेक क्षेत्रमा नयाँ रूप लिएर जीवित छ। चाहे घरपरिवार होस्, राजनीति होस्, औषधि परीक्षण होस् वा सडक यातायात, हरेक ठाउँमा शक्तिशाली वर्गले कमजोर वर्गलाई दबाउने सोच कायम छ। समाजलाई न्यायोचित, समान, र समावेशी बनाउन सामन्ती सोचको जरो उखेल्नु आवश्यक छ। यसको लागि शिक्षा, कानुनी सुधार, आर्थिक समानता, र सामाजिक सचेतना अत्यावश्यक छ। जबसम्म घरदेखि राज्यसम्म समानता, निष्पक्षता, र पारदर्शिता सुनिश्चित हुँदैन, तबसम्म वास्तविक विकास सम्भव हुँदैन।

सुनिल घिमिरे

मदाने गाउँपालिका ७ गुल्मी


Post a Comment

Previous Post Next Post